काठमाडौं सडकका खाल्डाखुल्डी सम्याउन आजदेखि सडक एम्बुलेन्स सञ्चालन

यसअघि काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सडक मर्मत गर्नका लागि २०७९ जेठ अन्तिम साताबाट पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।

काठमाडौं । काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न (सम्याउन) सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुरुवात गरे ।

कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको र बिस्तारै अन्य मुख्य सहरमा पनि विस्तार गरिने बताए । सडक एम्बुलेन्सले सडक मर्मतमा आउने गुनासो सम्बोधन हुने भन्दै मन्त्री घिसिङले विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मत सेवा प्रवाहलाई अझै प्रभावकारी बनाईनुपर्नेमा जोड दिए ।

सडक डिभिजन कार्यालय काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्त्वका सडक तत्काल मर्मत गर्न एम्बुलेन्स प्रयोगमा ल्याइने कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै सडकमा देखिएका खाल्डाखुल्डी तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डाको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिने छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीले सडक एम्बुलेन्स प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासो तत्काल सम्बोधन गर्ने दाबी गरे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्र्य प्रभावकारी तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्ने बताए ।

सडक डिभिजन काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले एम्बुलेन्स प्रयोगबाट ३ सय ६५ दिन र चौबिसै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत गरी सहज आवागमन सुनिश्चित गर्न सकिने उल्लेख गरे ।

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिने छ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भिडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिने छ ।

यसअघि काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सडक मर्मत गर्नका लागि २०७९ जेठ अन्तिम साताबाट पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।