नगद अनुदान रोकिँदा लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्छ: अध्यक्ष ढकाल
निर्यात व्यापार सन्तोषजनक नहुँदा निर्यातमा दिइँदै आएको नगद अनुदानलाई निरन्तरता दिनुपर्छ । यदि अहिले आर्थिक चाप छ भने हिसाब राखेर पछि भुक्तानी गर्ने व्यवस्था मिलाऊँ, तर निरन्तरता अत्यावश्यक छ ।
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा औद्योगिक विकासलाई गति दिन ‘एकद्वार प्रणाली’ अनिवार्य रूपमा लागू गर्नुपर्ने बताएका छन् ।
‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार विभागमा आयोजना गरेको ११औं राष्ट्रिय उद्योग दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योग तथा व्यवसाय सञ्चालनका लागि एउटै काममा धेरै सरकारी निकायसँग धाउनुपर्ने अवस्था हटाउनुपर्नेमा जोड दिए ।
‘हामीसँग एउटै काम गर्ने सरकारी संरचनाहरु धेरै छन् । सहज व्यवसायिक वातावरण दिनुपर्नेमा झनै झण्झट थपिँदै गएको छ,’ उनले भने, ‘अब एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक सरकारी संरचनाहरु हटाउँदै जानुपर्छ ।’
भदौ २३–२४ पश्चात देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको उल्लेख गर्दै ढकालले व्यक्तिगत तथा लगानीको सुरक्षालाई सरकारले प्राथमिकतामा राख्न आवश्यक रहेको जनाए । महासंघको पहलमा हालै मन्त्रालयले गरेका केही नीतिगत सुधार सकारात्मक भए पनि ती नीतिको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहेको उनले बताए ।
निर्यात व्यापार सन्तोषजनक नहुँदा निर्यातमा दिइँदै आएको नगद अनुदानलाई निरन्तरता दिन ढकालले आग्रह गरे।
‘नगद अनुदान रोकिने निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्छ,’ उनले भने, ‘यदि अहिले आर्थिक चाप छ भने हिसाब राखेर पछि भुक्तानी गर्ने व्यवस्था मिलाऊँ, तर निरन्तरता अत्यावश्यक छ ।’
गत असोजमा उद्योग विभागले चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने सूचना जारी गरेको थियो । देश विकासका लागि बाह्य लगानीसँगै आन्तरिक पूँजीलाई एकीकृत गरी पूर्वाधार तथा उद्यम विकासमा लगाउनुपर्ने अध्यक्ष ढकालको सुझाव छ ।
उनका अनुसार महासंघको पहलमा सरकारले वैकल्पिक विकास वित्त कोषको कुरा अघि सार्नु अघि नै १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना भई काम सुरु भइसकेको छ। ‘यसबाट ठूलो पूर्वाधार निर्माण तथा अन्य परियोजनामा पूँजी व्यवस्थापन सम्भव हुनेछ,’ उनले बताए ।
स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धनका लागि सरकारद्वारा कोष स्थापना गरिएको निर्णयलाई ढकालले स्वागत गरे। रोजगारी र उद्यमशीलता बढाउन महासंघ सधैं सहकार्यका लागि तयार रहेको उनले स्पष्ट पारे ।