एलआईसी र एफवान सफ्टले सहयोग गरेपछि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुग्यो सवा ९ करोड

विज्ञापन
ncell

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको तर्फबाट एक करोड एक लाख रुपैयाँ र एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे पेमेण्ट सर्भिसका कर्मचारी तथा कम्पनीको संयुक्त योगदान हुने गरी ७५ लाख रुपैयाँ जम्मा भएको छ ।

काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को तर्फबाट एक करोड एक लाख रुपैयाँ जम्मा भएको छ ।

एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एकलाख बराबरको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।

त्यसैगरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुनेगरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट इन्टरनेशनल, इसेवा र फोनपे पेमेण्ट सर्भिसका कर्मचारी तथा कम्पनीको संयुक्त योगदान हुने गरी ७५ लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो । मङ्सिर ३ गते अर्थमन्त्री खनाललाई ग्रुपको तर्फबाट अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका थिए ।

सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

पुनर्निर्माण कोषमा आइतबारसम्म नौ करोड ३० लाख रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए ।