अण्डाको भाउ फेरी महङ्गियो, बढ्यो प्रतिक्रेट ५५ रुपैयाँ
नेपाल लेयर्स कुखुरापालक संघले सार्वजनिक गरेको सूचीअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) ५२० रुपैयाँ, ठूलो अण्डा ५०५ रुपैयाँ र मिडिएमको ४९० रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं । नेपालमा अण्डाको मूल्य फेरी बढेको छ । आज आइतबारबाटै लागू हुनेगरी अण्डाको मूल्यमा भारी वृद्धि भएको हो।
पछिल्लो समय निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अवैध अण्डा रोकिएपछि नेपालका किसानले अण्डाको मूल्य पाउन थालेको बताइएको छ ।
सानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ मूल्यसूची सार्वजनिक गर्र्दा मूल्य बढाएको हो । संघले सार्वजनिक गरेको सूचीअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) ५२० रुपैयाँ, ठूलो अण्डा ५०५ रुपैयाँ र मिडिएमको ४९० रुपैयाँ कायम गरिएको छ ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट ५५ रुपैयाँले भाउ बढेको हो । भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको अध्यक्ष पोखरेलको भनाई छ । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपत बढेसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको अध्यक्ष पोखरेलले बताए ।
संघका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा ७.८० भारतीय रुपैयाँमा बिकेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयास नगरिएको हुन सक्ने भन्दै कँडेलले भने, ‘नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले लागत मूल्य पाउने देखियो ।’
अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६.५७ रुपैयाँ पर्न आउँछ । अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाएको कँडेलले बताए ।
नेपालमा अण्डाको बजारीकरणमा जुटिरहेको संघका अध्यक्ष पोखरेलले जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण जाडो महिनामा अण्डाको खपत बढ्ने गरेको बताए । तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पुगेकोमा क्रमशः ४०० रुपैयाँमा झरेको थियो । पुनः क्रमश बढ्दै गएर किसानले लागत मूल्य पाउने अवस्था बनेको हो । यससँगै किसान लाभान्वित हुने भएका छन् । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।