सातामा साढे १४ अंक बढ्यो सेयर बजार, बन्दीपुर केबलकार र सागर डिष्टिलरीको मूल्यमा ६१ प्रतिशतको बृद्धि

गत साता ३७९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको बन्दीपुर केबलकारको सेयर मूल्य यो साता ६१० रुपैयाँ ५० पैसा पुगेको छ भने गत साता ५१४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको सागर डिष्टिलरीको सेयर मूल्य ८२८ रुपैयाँ पुगेको छ ।

काठमाडौं । यो साता सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य बढेर बन्द भएको छ । 

५ कारोबार दिन नै खुलेको बजारमा ३ कारोबार दिन नेप्से बढ्दा २ कारोबार दिन घटेको थियो । जसअनुसार गत साता २५४५.७३ विन्दुमा बन्द भएको नेप्से सूचक यो साता बिहीबार ०.५७ प्रतिशत अर्थात १४.५६ अंक बढेर २५६०.२९ विन्दुमा रोकिएको छ । साताभर फ्लोट इण्डेक्स ०.३९ अंक बढे्दा सेन्सेटिभ इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले घटेको छ ।

यो साता सेयर बजार सूचकलाई बढाउन नेप्सेमा वर्गिकृत १३ समूह सूचकमध्ये ९ समूह सूचकले महत्वपूर्ण भुमिका खेलेका छन् । अर्थात् यो साता ९ समूह सूचक बढ्दा नेप्से सूचकमा सुधार भएको मान्न सकिन्छ । त्यस्तै, ३ समूह सूचक घटेको बजारमा यो साता एक समूह सूचक भने स्थिर रह्यो । यो साता होटल तथा पर्यटन समूह सूचक सबैभन्दा बढी ४.८९ प्रतिशत बढेको बजारमा वित्त समूह सूचक सबैभन्दा बढी ०.८२ प्रतिशतले घटेको छ । नेप्सेसँगै यो साता कारोबार रकममा पनि झिनो सुधार देखिएको छ । गत साता दैनिक औषत ४ अर्ब ७ करोड ९० लाख रुपैयाँ देखिएकामा यो साता दैनिक औषत ४ अर्ब ८ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । यो साता नेप्सेको कुल बजार पूँजीकरण २५ अर्ब बढेर ४२ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

यो साता हालै कारोबारमा आएका नयाँ कम्पनीहरु बन्दीपुर केबलकार एण्ड टुरिजम र सागर डिष्टिलरीले आफ्नो मूल्य बृद्धिलाई निरन्तरता दिएका छन् । यी दुबै कम्पनीको मूल्यमा यो साता सबैभन्दा बढी ६१ प्रतिशतको मूल्य बृद्धि देखिएको छ । गत साता ३७९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको बन्दीपुर केबलकारको सेयर मूल्य यो साता ६१० रुपैयाँ ५० पैसा पुगेको छ भने गत साता ५१४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको सागर डिष्टिलरीको सेयर मूल्य ८२८ रुपैयाँ पुगेको छ । त्यस्तै, बुङ्गल हाइड्रोको शेयरमूल्य पनि यो साता ३३ प्रतिशतभन्दा बढीले बढेको छ भने हिमस्टार उर्जाको सेयरमूल्य करिब साढे ३१ प्रतिशत बढेको छ । यो साता भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक २०.८० प्रतिशतले घटेको छ । भुगोपछि सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा पिपुल्स हाइड्रोपावर कम्पनी परेको छ र पिपुल्सको सेयरमूल्य करिब ११ प्रतिशत घटेको छ ।