संविधान जोगाउने एक मात्र विकल्प हो निर्वाचन: राष्ट्रपति पौडेल

देश आज विषम परिस्थितिबाट गुज्रिएको छ । संविधान, लोकतन्त्र र मुलुकलाई विषम र कठिन परिस्थितिबाट जोगाउन फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तय भएको हो ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान, लोकतन्त्र र मुलुकलाई अहिलेको विषम परिस्थितिबाट जोगाउन प्रतिनिधि सभाको निर्वाचन एकमात्र विकल्प भएको बताएका छन् ।

पद्मकन्या बहुमुखी क्याम्पसले आफ्नो हीरक जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले देश, जनता र लोकतन्त्रका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।

‘देश आज विषम परिस्थितिबाट गुज्रिएको छ । संविधान, लोकतन्त्र र मुलुकलाई विषम र कठिन परिस्थितिबाट जोगाउन फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय भएको हो,’ उनले भने, ‘यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य छ। त्यसैले यसलार्ई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल गर्न चाहन्छु ।’