५ अर्बको अग्राधिकार सेयर विक्री गर्न नबिललाई अनुमति, नाफा गरेको वर्ष ८ प्रतिशत ब्याज
सन् २००७-०९ को विश्वव्यापी वित्तीय संकटपछि वित्तीय संस्थाको पुँजीगत संरचनालाई सदृढ बनाउन प्रयोग भएको असञ्चिति प्रकृतिको पुँजी बजारको उपकरण नेपालमा पहिलो पटक प्रयोग भएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पहिलो पटक अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति दिएको छ ।
सेबोनले बैंकलाई ५ अर्ब रुपैयाँको ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
यसअघि नबिलले अंकित मूल्य १०० रुपैयाँमा ८ प्रतिशत ब्याजदरले ५ अर्ब रुपैयाँको सेयर अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको थियो । राष्ट्र बैंकबाट अनुमति पाएपछि नबिल अनुमति माग्दै सेबोन गएको थियो । अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो ।
परिपत्र विधिबाट निष्कासन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन् । व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र सेबोनबाट अनुमति पाएका धितोपत्र व्यवसायीले यसमा लगानी गर्न पाउँदैनन् ।
राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुने सम्भावना रहन्छ । यस्तै वितरणयोग्य नाफा आर्जन गरेको वर्ष मात्र कम्पनीले लाभांश वितरण गर्दछ ।
नोक्सानीमा रहेको वर्ष र सञ्चित नाफाबाट लाभांश वितरण गर्न पाउँदैन । त्यही भएर यसलाई असञ्चिति प्रकृतिको अग्राधिकार सेयर भनिएको हो ।
सेबोनले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा संशोधन गरेर राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक वित्तीय संस्थालाई मात्र यस्तो उपकरण निष्कासनको अनुमति प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर दोस्रो बजारमा सूचिकरण हुन्छ भने संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्नेछन् ।
अग्राधिकार सेयरधनीमा निहीत अधिकार भने विवरणपत्रमा कम्पनीले उल्लेख गरे अनुसार हुन्छ । कम्पनी विघटनको समयमा अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि र कम्पनीको साहू, निक्षेपकर्ता र पूरक पुँजीभन्दा पछाडि हुन्छ । अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनले बैंक तथा वित्तीय संस्थालाई पुँजीगत संरचना बलियो बनाउन सहयोग पुग्छ ।
पुँजीकोषमा दबाब सिर्जना भएर लगानी गर्न नसक्ने अवस्था सिर्जना भएपछि नबिल बैंकले अुसञ्चित अग्राधिकार सेयरको बाटो लिएको हो । यसले पुँजी दबाब कम गर्छ भने लगानीकर्ताको लाभांस वितरणमा पनि खासै प्रभाव पार्दैन । अझ चुक्ता पुँजी नबढ्ने हुँदा जति नाफा बढी उति सेयरधनीलाई लाभ मिल्छ ।