म डुब्दा बैंक र रोजगारी दुवै जोखिममा पर्छ : मीनबहादुर गुरूङ
कर तिरेर बाँकी नाफा दानमै लगाउने सोच भएको र स्वास्थ्य क्षेत्रमा भाटभटेनीले ठूलो योगदान गर्दै आएको छ । भगवान कोइराला अस्पतालदेखि टिचिङ अस्पतालसम्म सहयोग पुगेको छ ।
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले आफू डुब्दा बैंक र रोजगारी दुबै जोखिममा पर्ने बताएका छन् ।
कर दिवसको दिन सरकारले सम्मान गरेपछि आफ्नो भोगाइ खुलेर सुनाउँदै गुरूङले आफ्नो व्यवसायिक यात्रानै उतार–चढावले भरिएको बताए । आगलागीले ठूलै क्षति पुर्याए पनि बीमाले सबै भरपाई नगरेको र यस्तो अवस्थामा पनि आफू उठ्नैपर्ने बाध्यता रहेको उनले बताए । 'म डुब्दा बैंकपनि डुब्छ, रोजगारी जाने मान्छेहरू पनि हुन्छन्,' उनले भने । पछिल्लो चार वर्षदेखि सबैभन्दा धेरै कर तिरेर अगाडि रहेको भाटभटेनीमा भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा ठूलो क्षति पुर्याइएको थियो ।
गुरूङका अनुसार भाटभटेनीमा भएको ठूलो आगलागी घटना ‘स्वीट पेन’ जस्तै थियो-दुख पनि, सिकाइ पनि । गुरूङ भन्छन्, 'कहिले कीर्ते भन्छन्, कहिले जेल हालिन्छ, कहिले जलाइन्छ… यी सबैले मलाई ‘स्वीट पेन’ दिएको हो ।' उनीमाथि आएका आरोप होस् वा ठूलो क्षति, उनले सबै कुरा स्वीकारेर अघि बढेको बताउँदै आए । कर तिरेर बाँकी नाफा दानमै लगाउने सोचभएको र स्वास्थ्य क्षेत्रमा भाटभटेनीले ठूलो योगदान गर्दै आएको उनको भनाइ छ । भगवान कोइराला अस्पतालदेखि टिचिङ अस्पतालसम्म सहयोग पुगेको उनले उल्लेख गरे ।