बढी कर तिर्ने करदातालाई सम्मान, व्यक्तिगतमा राजबहादुर शाह हुँदा कुन क्षेत्रमा को अघि ?
बैंक, विविध संस्था र बीमाको कारोबार गर्नेमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल छ । पर्यटन व्यवसायम सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर छ ।
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को आय विवरण अनुसार १६ विधामा सबैभन्दा बढी कर तिर्दै आएका करदाताहरूलाई सम्मान गरेको छ । सोमबार आन्तरिक राजस्व विभागमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले उत्कृष्ठ करदाताहरूलाई सम्मान एवं प्रमाणपत्र वितरण गरे ।
विवरणअनुसार व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर भुक्तानी राजबहादुर शाहले गरेका छन् । सरकारले सोमबार सबैभन्दा बढी कर तिर्नेहरुको सूची सार्वजनिक गर्दै राजबहादुरले व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेको जनाएको छ ।
निकायहरुमध्ये आर्थिक वर्ष २०८०/८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सरकारी स्वामित्वको नेपाल दुरसञ्चार प्राधिकरण छ । एकलौटी फर्महरुमध्ये २०८०/८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा थर्ड आई इन्टरनेशनल परेको छ ।
वस्तु निर्माणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा डाबर नेपाल प्रालि सूचीकृत भएको छ ।
सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्येमा ओरिक्स नेपाल प्रालि परेको छ भने कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि परेको छ ।
बैंक, विविध संस्था र बीमाको कारोबार गर्नेमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल परेको छ । पर्यटन व्यवसायम सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर परेको छ । वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी र १०० करोडसम्म कारोबार गर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सीडीएस एण्ड क्लियरिङ छ ।
रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येमा आइएमई लिमिटेड छ । वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये आव २०८०/८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा प्रा.लि. भि.एफ.सर्भिसेज (मौरिसस) छ । यूनिलिभर नेपालले पनि धेरै कर दाखिला गरेको छ ।
सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागू भएको दिनदेखि प्रत्येक वर्ष मंसीर १ गते कर दिवस मनाउँदै आएको छ । यसै अवसरमा करदातालाई प्रोत्साहनगर्न र उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै विभिन्न विधामा उत्कृष्ट कर तिर्दै आएका करदाताहरूलाई सम्मानित गरिन्छ।