जनताले परिवर्तनको महसुस गर्ने र न्यायको अनुभूति हुनेगरि काम गर्नुस्ः गृहमन्त्री अर्याल

पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ ।

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

आज गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

'अहिलेको सरकार निर्वाचनको सरकार हो । त्यसैले पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ,' गृहमन्त्री अर्यालले भने, 'गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समितिलाई अझ सक्रिय बनाउँदै पीडितका गुनासा सुन्ने र समाधान गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन सकिएमा बाहिर देखा परेका भ्रमपूर्ण धारणा हटाउन सकिन्छ ।

गृहमन्त्री अर्यालले विभागीय प्रमुखहरुलाई मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पादन गरि जनतालाई परिवर्तनको अनुभूती दिलाउन निर्देशन दिए । त्यस अवसरमा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा घाइते भएकालाई राहत कार्ड फिल्डमै वितरण गर्न र घाइते राहत कार्यविधि छिट्टै टुङ्ग्याउन निर्देशन दिए ।

बैठकमा गृहसचिव दङ्गालले मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न मातहतका प्रमुखहरुलाई निर्देशन दिए । बैठकमा मन्त्रालयका विभागीय प्रमुख, महाशाखा तथा शाखा प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रको प्रगति तथा वस्तुस्थितिबारे जानकारी गराएका थिए ।