तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर स्थिती २ खर्ब ६४ अर्बले बचत
असोजसम्म खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड छ । जवकी अघिल्लो वर्ष यसै अवधिमा २ अर्ब थियो । यो अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्ष को ४ अर्ब ८१ करोड रहेको थियो ।
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ । चालु आवको असोजसम्म विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।
असोज महिनाको विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो । यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ । गत आवको सोही अवधिमा १०.६ प्रतिशतले बढेको थियो ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।
त्यसैगरि असोजसम्म शोधनान्तर स्थिती २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड छ ।
त्यस्तै, पछिल्लो ३ महिनामा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा छ । गत आवको सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता यो अवधिमा १ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ ।
असोजसम्म खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो । यो अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको थियो ।