एनपीएलको तयारी पूरा, दोस्रो संस्करणबाट ४० करोडसम्म कमाउने लक्ष्य, आन्दोलन नगर्न सबैलाई अनुरोध
दोस्रो संस्करणको लिगबाट ३०–४० करोड रुपैयाँ आम्दानी गर्ने क्यानको लक्ष्य छ । १५ करोड बराबरको स्पोन्सर एग्रीमेन्ट भएको छ । टिम ओनरबाट करिब ९ करोड रुपैयाँ आएको छ । ओटीटी प्रसारण अधिकार डिसहोम गोले ५ करोड ३० लाखमा प्राप्त गरेको छ ।
काठमाडौँ । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानले आगामी सोमबार (मंसिर १ गते)देखि सुरु हुने लिग यसपटक झनै भव्य रूपमा आयोजना गरिने जानकारी गराएको छ ।
क्यानका सचिव पारस खड्काले पहिलाको सिजनभन्दा यो पटक एनपीएल अझ रोमाञ्चक हुने बताए । एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्न क्यान एकजुट रहेको खड्काको भनाइ छ । सचिव खड्काले भने, ‘हामीसबै फरक पृष्ठभूमिबाट आए पनि एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सबै एक छौँ, पहिलाको भन्दा यो पटक एनपीएल फरक हुनेछ। यो पटक फ्लड लाइटमा खेल्न नयाँ प्यारापिटमा बनेको छ। नेपाली क्रिकेट उद्योग बन्न सक्ने अवस्थामा पुगेको छ तर अझै धेरै गर्न बाँकी छ।’
दोस्रो संस्करणमा पुरस्कार राशिमा भने कुजै परिवर्तन गरिएको छैन । पहिलो पटक एनपीएल फ्लडलाइटअन्तर्गत डे-नाइट प्रारूपमा हुने भएकाले दर्शकमा थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ । दोस्रो संस्करणको लिगबाट ३०–४० करोड रुपैयाँसम्म आम्दानी गर्ने क्यानले लक्ष्य लिएको छ । कोषाध्यक्ष पदम खड्काले १५ करोड बराबरको स्पोन्सर एग्रीमेन्ट गरिसकेको बताए। कोषाध्यक्ष खड्काका अनुसार टिम ओनरबाट मात्र करिब ९ करोड रुपैयाँ आइसकेको छ । ओटीटी प्रसारण अधिकार डिसहोम गोले ५ करोड ३० लाखमा प्राप्त गरेको छ । विश्वभरिबाट उठ्ने डिजिटल आम्दानीमध्ये ७१ प्रतिशत क्यान र २९ प्रतिशत डिसहोमको रहनेछ ।
त्यसैगरी, लिनेयर टीभी प्रसारण अधिकार न्यूनतम १ करोडमा फाइनल भएको छ, र यो रकम अझै बढ्न सक्ने क्यानको अनुमान छ । टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने लक्ष्य राखिएको छ। स्टेडियम क्षमता र बढ्दो दर्शक उत्साहका आधारमा टिकट आम्दानी अझ उच्च हुन सक्ने अपेक्षा छ । विदेशी खेलाडीहरू क्रमशः नेपाल आइपुगिरहेका छन् भने सबै ८ फ्रेन्चाइज टोली प्रशिक्षणमा व्यस्त छन् ।
सचिव खड्काले दर्शकको सुरक्षालाई पनि ध्यान दिएर त्यही अनुसारको व्यवस्थापन गरेको जानकारी दिए । ‘एनपीएलका लागि दर्शकको सुरक्षालाई ध्यानमा राखेका छौँ,’ सचिव खड्काले भने, ‘हामीले पाँचवटा गेट खुला गर्नेछौँ । टिकट भएका दर्शकमात्र मैदानसम्म आइदिनु होला, टिकट नहुनेहरु घरमा नै बसेर टेलिभिजन वा ओटीटी प्लेफर्मबाट हेरिदिनु होला ।’ यस्तै सचिव खड्काले करिब एक महिना चल्ने एनपीएलको समयमा कुनै पनि आन्दोलनका कार्यक्रम उपत्यकामा नगरिदिन र काठमाडौँ बाहिर गरिदिन समेत आग्रह गरे ।