तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला

पाँच वर्ष अवधिका दुवै बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्मको समय दिइएको छ । मङ्सिर २८ गते बाँडफाँड गरिने छ । नागरिक बचतपत्रमा साढे छ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे सात प्रतिशत वार्षिक ब्याजदर तोेकिएको छ ।

काठमाडौं । सरकारले ३ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ अर्ब रुपैयाँ बराबरको दुई वटा बचतपत्र बिक्री खुला गरेको छ । कार्यालयले दुई अर्ब ५० करोड बराबरको ‘नागरिक बचतपत्र–२०८७’ र ५० करोड रुपैया बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरेको हो । 

पाँच वर्ष अवधिका दुवै बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्मको समय दिइएको छ । मङ्सिर २८ गते बाँडफाँड गरिने छ । नागरिक बचतपत्रमा साढे छ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे सात प्रतिशत वार्षिक ब्याजदर तोेकिएको छ । बचतपत्रको ब्याज हरेक छ(छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । दुबै बचतपत्र खरिद गर्न चाहनेले कम्तिमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष हुने अङ्कसम्म खरिद गर्न पाइनेछ ।

नागरिक बचतपत्र नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् भने वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली आफू वा आफ्नो परिवारको सदस्यको नाममासमेत खरिद गर्न सक्नेछन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।

अघिल्ला वर्षमा नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुँदा वैदेशिक रोजगार बचतपत्रमा भने लगानीकर्ताको न्यून सहभागिता हुने गरेको थियो । चालू वर्ष सरकारले बजेटमार्फत ३ खर्ब ६२ अर्व रुपैयाँ आन्तरिक ऋण उठाउने घेषणा गरेको छ । त्यसैअन्तर्गत यो ऋण उठाउन लागिएको हो ।