बहुमूल्य धातुको कारोबारमा कडाइ, अटेरी गरे ५० लाखसम्म जरिवाना र दर्ता खारेजी
१० लाखमाथिको कारोबार बैंकमार्फत अनिवार्य
पहिलो पटक लिखितरुपमा सचेत गराउने, दोस्रो पटक दश लाख जरिवाना, तेस्रो पटकबाट १० लाखदेखि ५० लाखसम्म जरिवाना गर्ने, अटेर गरिरहे जरिवाना सहित दर्ता खारेजीसम्मका कारबाही गरिने छ ।
काठमाडौं । सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गरेको छ । मुलुक सम्पत्ति शुद्धिककरणको मामिलामा ग्रे लिस्टबाट गुज्रिरहेका बेला त्यसबाट छिट्टै बाहिर निकाल्न सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गर्न थालेको हो ।
आन्तरिक राजश्व विभागले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) लाई जारी गरेको निर्देशन, २०८२’जारी गर्दै सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबारमा स्वच्छता एवं पारदर्शिता कायम गर्न भनेको छ ।
निर्देशन अनुसार ‘बहुमूल्य धातु वा वस्तु’ का रुपमा प्राकृतिक वा प्रशोधित जुनसुकै स्वरुपका सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम, डायमण्ड, सफायर, रुबी, इमेराल्ड, जेड, पर्ल, कोरण्डम, एकुमेरीन र दुई प्रतिशत वा सो भन्दा बढी सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम मिश्रण भएका वा समावेश गरिएका अन्य धातु वा वस्तु, तिनका अवस्क वा त्यस्तो धातुवाट बनेको गहनालाई समेटेको छ । यस्ता बस्तुको कारोबार गर्ने सूचक संस्थाले बेनामी वा काल्पनिक नाममा कुनै प्रकारको कारोबार गर्न नपाइने व्यवस्था गरिएको छ ।
निर्देशनमा विद्युतीय माध्यमबाट भुक्तानी लिनुदिनुपर्ने व्यवस्था गरिएको छ । सूचक संस्थाले खरिद विक्री गर्दा लिने रकम वा दिने भुक्तानीमा विद्युतीय माध्यमलाई प्राथमिकता दिनुपर्ने, विद्युतीय माध्यममार्फत हुने भुक्तानीमा कुनै सीमा रहेको भएमा बहुमूल्य धातु वा वस्तुको खरिद विक्री गर्ने सूचक संस्थाको सन्दर्भ उल्लेख गरी सीमा थप हुने व्यवस्था विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउने निर्देशनमा उल्लेख छ ।
तोकिएका विवरणहरुको अभिलेख नराखिएमा वा तोकिएको समयसम्म सुरक्षित नराखिएमा पहिलो पटक लिखितरुपमा सचेत गराउने, दोस्रो पटक दश लाख रूपैयाँ जरिवाना गर्ने,तेस्रो पटकबाट १० लाख रुपैयाँदेखि गम्भीरताताका आधारमा ५० लाख रुपैयाँसम्म जरिवाना गर्ने, अटेर गरिरहे जरिवाना सहित दर्ता खारेजीसम्मका कारबाही गर्ने उल्लेख गरिएको छ ।
ऐन, नियम, निर्देशनमा उल्लेख भएका अन्य विषयको पालना नभएमा पहिलो पटक लिखितरुपमा सचेत गराउने, दोस्रो पटक एक लाख रूपैयाँ जरिवाना गर्ने, तेस्रो पटकबाट दश लाखदेखि गम्भीरता आधारमा १ करोड रुपैयाँसम्म जरिवाना र अन्य आवश्यक कारबाही गर्नेसम्मका व्यवस्था गरिएको छ ।