राष्ट्र बैंकले हस्तक्षेप नगरे निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्छ : गभर्नर पौडेल
बैंकले ऋण कागज खेलाउन दिएको कि खेती गर्न ?
बैंकबाट कृषिमा गएको ऋण कृषिका लागि गएको छ कि त्यो पैसा विदेश जान खर्च भएको छ हेर्नूपर्छ । एसएमई ऋण राम्रो भयो भने देश बलियो हुन्छ । तर, त्यसो हुन सकेको छैन ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले राष्ट्र बैंकले नियन्त्रण नगर्ने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै गभर्नर पौडेलले राष्ट्र बैंकको व्यवस्थाले अहिले ब्याजदर २.७५ प्रतिशत भन्दा कम नभएको बताए ।
बैंकलाई साढे आठ खर्ब बराबरको स्थायी तरलता सुविधा उपलब्ध गराएको र यो १० खर्ब पुग्ने अनुमान रहेको बताउँदै गभर्नर पौडेलले राष्ट्र बैंकले मात्रै झन्डै २७ अर्ब रुपैयाँ स्थायी तरलता सुविधाबापत वार्षिक खर्च गर्नुपर्ने अवस्था रहेको बताए । अहिलेको तरलता समस्या समाधान गर्न ऋण लगानी हुने वातावरण बनाउनुपर्नेमा गभर्नर पौडेलले जोड दिए ।
गभर्नर पौडेलले बैंकिङ क्षेत्रले कागज खेलाउन कर्जा दिएका छन् कि खेती गर्न दिएको छन् भन्ने विषयको अध्ययन हुनुपर्ने बताए । 'बैंकबाट कृषिमा गएको ऋण कृषिका लागि गएको छ कि त्यो पैसा विदेश जान खर्च भएको छ हेर्नूपर्छ' गभर्नर पौडेलले भने, 'एसएमई ऋण राम्रो भयो भने देश बलियो हुन्छ । तर, त्यसो हुन सकेको छैन ।'