कार्गो रेल सम्पर्क विस्तार गर्न नेपाल र भारतबीच सम्झौता, पारवहन सन्धिका प्रावधानसमेत संशोधन
अब कोलकाता/विशाखापटनमबाट विराटनगर–जोगमनीसम्म र कोलकाता/विशाखापटनमबाट नौतनवा (सुनौली) सम्म रेलमार्ग मार्फत र त्यहाँबाट भैरहवासम्म सडकमार्ग प्रयोग गरी सबै किसिमका कार्गो ढुवानी गर्न पाउने गरी सन्धिका प्रावधान संशोधन गर्न ‘लेटर अफ एक्स्चेन्ज’ आदान प्रदान गरिएको छ ।
काठमाडौं । दुई देशबीच रेल सम्पर्क विस्तार गर्ने सम्बन्धमा नेपाल र भारतबीच सम्झौता भएको छ ।
भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतीय समकक्षी पियुष गोयलबीचको बैठकमा सम्झौता भएको हो । बैठकले नेपाल र भारतबीच पारवहन सन्धिका प्रावधानसमेत संशोधन गरेको छ ।
नयाँ संशोधन अनुसार अब कोलकाता/विशाखापटनमबाट विराटनगर–जोगमनीसम्म र कोलकाता/विशाखापटनमबाट नौतनवा (सुनौली) सम्म रेलमार्ग मार्फत र त्यहाँबाट भैरहवासम्म सडकमार्ग प्रयोग गरी सबै किसिमका कार्गो ढुवानी गर्न पाउने गरी सन्धिका प्रावधान संशोधन गर्न ‘लेटर अफ एक्स्चेन्ज’ आदान प्रदान गरिएको हो ।
यसअघि दुवै नाकाबाट चार वटा बल्क सामानमात्र ढुवानी गर्न पाउने प्रावधान थियो । पारवहन सन्धिका प्रावधानमा भएको संशोधनले अब सबै किसिमका कार्गो ढुवानी गर्न सकिने भएको छ । मन्त्री सिन्हाले ३०औं ‘पार्टनरसिप समिट २०२५’ मा सहभागी हुन भारतको विशाखापटनम जाने क्रममा नयाँदिल्लीमा समकक्षी गोयलसँग भेटघाट गरेका हुन् ।
भेटमा नेपाल र भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा छलफल भएको छ ।