मंसिर २ देखि काठमाडौंमा अन्तर्राष्ट्रिय कर सम्मेलन, नेपाललाई ‘माइस’ गन्तव्यका रुपमा प्रवर्द्धन गरिने

सम्मेलनमा नेपालका साथै हङकङ, जापान, इन्डोनेसिया, कोरिया, मलेसियालगायत देशका व्यवसायी र नीति निर्माताले विकासशील देशहरूको कर प्रणाली, उदाउँदो अर्थतन्त्रमा‌ कर नीति, विश्वव्यापी कर अनुपालन, कर प्रशासनमा डिजिटल रुपान्तरणलगायत विषयमा छलफल गर्नेछन् ।

काठमाडौं । आगामी मंसिर २ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुने भएको छ । नेपाल चेम्बर अफ ट्याक्स कन्सल्ट्यान्ट्सको आयोजनामा हुने सम्मेलनमा २० देशका प्रतिनिधिले सहभागिता जनाउने छन् ।

ट्याक्स कन्सल्ट्यान्ट्सका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र सुधारको उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए ।

सम्मेलनमा नेपालका साथै हङकङ, जापान, इन्डोनेसिया, कोरिया, मलेसियालगायत देशका व्यवसायी र नीति निर्माताले विकासशील देशहरूको कर प्रणाली, उदाउँदो अर्थतन्त्रमा‌ कर नीति, विश्वव्यापी कर अनुपालन, कर प्रशासनमा डिजिटल रुपान्तरणलगायत विषयमा छलफल गर्नेछन् ।

‘सम्मेलन विशेषगरी नेपालको कर प्रणालीको विकसित रुप प्रदर्शन गर्ने, नेपाली कर व्यवसायीहरुलाई अन्तरराष्ट्रियस्तरका विशेषज्ञसँग जोड्ने र नेपाललाई ‘माइस’ गन्तव्यका रुपमा प्रवर्द्धनमा केन्द्रित हुनेछ’, पोखरेलले भने, सम्मेलनमा ३५० जना अन्तरराष्ट्रिय प्रतिनिधि र २०० भन्दाबढी नेपालका कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा विज्ञहरुको सहभागिता रहन्छ

सम्मेलनमा विशेष सत्रका रूपमा ‘ट्रान्सफर प्राइसिङका व्यावहारिक पक्ष’लाई राखिएको छ ।‌ यो सत्रमा ग्लोबल ट्याक्स एडभाइजर प्ल्याटफर्मका अध्यक्ष पियरजियोर्जियो भालेंटे पनि सहभागी हुनेछन् । मंसिर ५ गतेसम्म चल्ने सम्मेलनमा एशिया ओसियाना ट्याक्स कन्सल्ट्यान्ट्स एसोसिएसनको पनि समन्वय छ ।