प्रधानमन्त्री कार्की आफ्नै कार्यालयको कामप्रति असन्तुष्ट, ‘ग्रे लिष्‍टबाट बाहिर निकाल्ने गरि काम गर्नु’

वार्षिक कार्यक्रम, कार्ययोजना एवम् तय गरिएका माइलस्टोन बमोजिम निर्धारित समय सीमाभित्र तोकिएका लक्ष्य हासिल गर्न सबै निकायका प्रमुखहरूले जिम्मेवारी लिन निर्देशन गर्दछु ।

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको कामप्रति असन्तुष्टि जनाएकी छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायको चालु वर्षका कार्यक्रमको समीक्षा बैठकमा प्रथम त्रैमासको खर्च सन्तोषजनक नदेखिएको भन्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावना र मर्म बमोजिम उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिइन् ।

‘सुशासनयुक्त र भ्रष्‍टाचारमुक्त राष्‍ट्र निर्माणप्रति वर्तमान सरकार कटिबद्ध र प्रतिबद्ध रहेको सन्दर्भमा सार्वजनिक निकायबाट सम्पादन भएका काम कार्यवाही निष्‍पक्ष, स्वच्छ, सहज र सेवाग्राहीमैत्री भए/नभएको सूक्ष्म निगरानी तथा अनुगमन गर्न राष्‍ट्रिय सतर्कता केन्द्रले थप पहल गर्न निर्देशन गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘चालु आर्थिक वर्षका लागि तय भएका निर्धारित लक्ष्य हासिल गर्नेगरी कार्यसम्पादन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देख्दछु । वार्षिक कार्यक्रम, कार्ययोजना एवम् तय गरिएका माइलस्टोन बमोजिम निर्धारित समय सीमाभित्र तोकिएका लक्ष्य हासिल गर्न सबै निकायका प्रमुखहरूले जिम्मेवारी लिन निर्देशन गर्दछु ।’

कामलाई उच्च प्राथमिकता दिइ तीव्रताका साथ अगाडि बढाउन भन्दै प्रधानमन्त्री कार्कीले अर्थ मन्त्रालयमा राय माग भएका विषयमा आवश्यक सहजीकरण गरी समयमै उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइन् ।

प्रधानमन्त्रीले देशलाई फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिष्‍टबाट बाहिर निकाल्न सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्न पनि भनेकी छन् । उनले सरकारी सेवा प्रवाहमा निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन् ।