अमित अग्रवाल नेतृत्वमा फिनटेक अलायन्सको नयाँ कार्यसमिति, डिजिटल वित्तीय क्षेत्रमा नवीनता लक्षित
आईएमई खल्तीका सह–संस्थापक तथा निर्देशक अमित अग्रवालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा सीनर्जी टेक सफ्टवेयरका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र खड्का, प्लान बी सलुसंसका सह–संस्थापक बिनोद पोखरेल, माछापुच्छ्रे बैंकका वरिष्ठ सम्बन्ध व्यवस्थापक विकाश श्रेष्ठ, आइमार्कका सञ्चालक अशिष शर्मा, एनसीएचएलकी प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, र आइएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार छन् ।
काठमाडौं । नेपालको फिनटेक क्षेत्रलाई सुदृढ र एकीकृत बनाउन सक्रिय गैर–नाफामूलक संस्था फिनटेक अलायन्स नेपालले आर्थिक वर्ष २०८२/८३ का लागि आईएमई खल्तीका सह–संस्थापक तथा निर्देशक अमित अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ समितिको घोषणा आईतबार ललितपुरस्थित स्क्वायर होटलमा सम्पन्न वार्षिक साधारण सभामा गरिएको हो ।
नयाँ कार्यसमितिमा सीनर्जी टेक सफ्टवेयरका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र खड्का, प्लान बी सलुसंसका सह–संस्थापक बिनोद पोखरेल, माछापुच्छ्रे बैंकका वरिष्ठ सम्बन्ध व्यवस्थापक विकाश श्रेष्ठ, आइमार्कका सञ्चालक अशिष शर्मा, एनसीएचएलकी प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, र आइएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार छन्।
अध्यक्ष अग्रवालले जिम्मेवारी ग्रहण गर्दै फिनटेक क्षेत्रमा सहकार्य, नवप्रवर्तन र दिगो विकासलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘हामीको उद्देश्य नेपाली फिनटेक क्षेत्रमा नयाँ पहल र प्रविधि नवप्रवर्तनलाई प्रोत्साहन गर्दै संस्थागत सहयोगलाई विस्तार गर्नु हो।’
तीन वर्षअघि स्थापना भएको फिनटेक अलायन्स नेपाल अहिले देशकै प्रमुख फिनटेक संस्थामध्ये एकका रूपमा विकसित भइसकेको छ । हाल फिनटेक अलायन्समा ३० भन्दा बढी संस्थागत सदस्य छन् र संख्या तीव्र रूपमा बढिरहेको छ । संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरू जस्तै फिनटेक फ्राइडे (सीप र ज्ञान सत्र), फिनहाइक (सामाजिक र मनोरञ्जनात्मक गतिविधि) र फिनटेक सोसल (नेटवर्किङ सत्र) निकै लोकप्रिय भएका छन् ।
यस्तै, फिनटेक अलायन्सले नेपाली फिनटेक र आइटी उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि परिचित गराउँदै आएको छ । यसले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ। संस्थाले भविष्यमा अझ बढी नवप्रवर्तन, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमार्फत फिनटेक क्षेत्रमा नेपालको पहुँचलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।
विशेषगरी नयाँ कार्यसमितिले नेपाली फिनटेक उद्योगलाई अझ व्यवस्थित र सुसंगठित बनाउने, नीति–निर्माणमा सल्लाह दिने र प्रविधि नवप्रवर्तनका कार्यक्रमहरूलाई बढावा दिने काममा ध्यान केन्द्रित गर्ने बताइएको छ । यसले वित्तीय समावेशिता, डिजिटल भुक्तानी प्रणालीको विकास र युवा उद्यमीहरूको संलग्नतालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।