सिटिजन्स बैंकले ल्यायो क्यूआर कारोबार विवरण हेरेर दिने ऋण योजना ‘क्यूआर मर्चेन्ट लोन’
योग्य ग्राहकले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाखसम्म ऋण लिन सकिने बैंकले जनाएको छ ।
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकका लागि नयाँ ऋण योजना ल्याएको छ । बैंकले नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना ल्याएको हो । यो योजना अन्तर्गत साना तथा मझौला व्यवसायीलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रुपमा ऋण सुविधा उपलब्ध गराइने छ।
यो योजनालाई बैंकले आफ्नो डिजिटल बैंकिङ यात्रामा अर्को महत्वपूर्ण कदम भनेको छ । यो योजनामा सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल हुने भएकाले ऋण लिनका लागि ग्राहकले शाखामा जानु पर्दैन । मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणका लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
ऋण पाउन व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ । योग्य ग्राहकले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् ।
न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाखसम्म ऋण लिन सकिने बैंकले जनाएको छ ।