नेप्सेसँगै कारोबार रकम पनि घट्यो, ४ कम्पनीका लगानीकर्ता भए मालामाल

आइतबार दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी, सागर डिष्टिलरी र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसमध्ये सागर डिष्टिलरीको आजैदेखि कारोबारमा आएको हो ।

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले आइतबार पनि निरन्तरता दिएको हो ।

आइतबार नेप्से सूचक ३०.०२ अंक घटेर २५६६.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.९, फ्लोट इण्डेक्स २.४२ र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंक घटेको छ ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ । गत बिहीबार ५ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आइतबार ४ कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि देखिएको छ । खासगरि हालै कारोबारमा आएका ३ कम्पनीसँगै अर्को कम्पनीले पनि उच्च बृद्धि पछ्याएको छ । आइतबार दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी, सागर डिष्टिलरी र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसमध्ये सागर डिष्टिलरीको आजैदेखि कारोबारमा आएको हो । आइतबार १०.२५ प्रतिशत ब्याजदरको नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ को मूल्य पनि करिब १० प्रतिशत बढेको छ । तर, आइतबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा भने ऋणात्मक सर्किट लागेको छ । अर्थात् उन्नति सहकार्यको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आइतबार यूनियन हाइड्रोपावर शीर्ष स्थानमा छ। युनियनको २७ करोड ७६ लाख रुपैयाँबराबरको सेयर खरिदविक्री हुँदा नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर इण्ड डेभलपमेन्टको करिब २२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

आइतबार १३ वटै समूह सूचक घटेको छ । जसमध्ये वित्त समूह सूचक सवैभन्दा धेरै २.९१ प्रतिशत घटेको छ । त्यस्तै, बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह सूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ ।