करिब डेढ महिनापछि धितोपत्र बोर्डका कर्मचारीहरू आन्दोलन स्थगित गरेर काममा फर्किए

धितोपत्र बोर्डका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । समितिमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र दुई जना बोर्डका कर्मचारी सदस्य छन् । उसमितिलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ ।

काठमाडौं । करिब डेढ महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूको आन्दोलन ४८ दिनपछि स्थगित भएको छ । आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेसँगै बोर्डका कर्मचारीहरू आइतबारदेखि काममा फर्किएका हुन् ।

कर्मचारीहरूको सेवा सुविधा कटौती नहुने व्यवस्थाका लागि सुझाव दिन एक अध्ययन समिति गठन गर्ने सहमति भएको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र कर्मचारीहरूबीच वार्ता भएको थियो ।

धितोपत्र बोर्डका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । समितिमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र दुई जना बोर्डका कर्मचारी सदस्य छन् । उसमितिलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ ।

अर्थ मन्त्रालयले भदौ ३१ गते पठाएको पत्रकै कारण कर्मचारीहरूले आन्दोलन चर्काएका थिए । कर्मचारीहरूले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक लगाउँदै काम ठप्प पारेका थिए ।

अर्थमन्त्री रामेश्वर खनालले खर्च कटौती गर्दै बोर्डको कर्मचारी कल्याण कोष कार्यविधि खारेज गर्ने र ती कोषबाट भुक्तानी भएको रकम असुलउपर गर्न निर्देशन दिएका थिए । अर्थ मन्त्रालयको निर्देशनसँगै बोर्डको स्वायत्ततामाथि प्रहार भएको र खाइपाई आएको सेवा सुविधा खोसिएको भन्दै कर्मचारीहरूले असोज ७ गतेदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।