कानुनी शासन स्थापित हुँदै जान्छ, निजी क्षेत्रको सुरक्षामा सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल
अर्थतन्त्रको आधारशिला बलियो बनाउनु छ। यसको लागि लगानी र लगानीकर्ताको सुरक्षामा सरकार गम्भीर छ र सक्षम छ । व्यवसायीहरू डराउनुपर्दैन ।
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले देशको अवस्था क्रमशः सामान्य हुँदै गएको बताएका छन् ।
उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा गृहमन्त्री अर्यालले ‘जेनजी आन्दोलन’पछि कानुनी शासन कमजोर बनेको भए पनि अहिले त्यसलाई पुनःस्थापना गर्न सरकार सफल बन्दै गएको दाबी गरे ।
अर्थतन्त्रको जगेर्ना गर्नु निजी क्षेत्रको दायित्व भएको उल्लेख गर्दै मन्त्री अर्यालले भने, 'जेनजी आन्दोलनपछि बाँकी रहेको सम्पत्तिको जगेर्ना गर्दै जानु अहिलेको आवश्यकता हो ।'
गृहमन्त्री अर्यालले वर्तमानमा स्थिति सामान्य बनेको र कानुनी राज्य बहाल भएको जानकारी दिए । उनले भने, ‘अर्थतन्त्रको आधारशिला बलियो बनाउनु छ। यसको लागि लगानी र लगानीकर्ताको सुरक्षामा सरकार गम्भीर छ र सक्षम छ। व्यवसायीहरू डराउनुपर्दैन ।’
‘भदौ २४ गतेको आन्दोलनको क्रममा भएको विध्वंसका घटनाको उजुरी प्रक्रिया पनि अघि बढिरहेको छ’ गृहमन्त्री अर्यालले भने, ‘३८० जना पक्राउ परेका छन् र १५० जनाविरुद्ध मुद्दा दायर भएको छ। करिब ८०० हतियार फिर्ता भइसकेका छन् ।’
गृहमन्त्री अर्यालले लगानीकर्तालाई विश्वास दिलाउँदै सरकारले सार्वजनिक सुरक्षामा कडाइ र प्रभावकारी नियन्त्रण कायम गर्दै निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न अग्रसर रहेको बताए ।