कालोसूचीमा पर्ने क्रम बढ्दोछ, निजी क्षेत्रको मनोबल उकास्नुपर्ने छः गभर्नर पौडेल
हाल देशभर १८ लाख हाराहारीका ऋणीमध्ये करिब १ लाख जना कालोसूचीमा परेका छन्, जसमा करिब ८० प्रतिशत चेक बाउन्सका कारण सूचीकृत छन् । यद्यपी हालको अवस्था लगानीका लागि अनुकूल छ । अहिले ब्याजदर सस्तो छ । निजी क्षेत्रले उच्च मनोबलका साथ काम गर्नुपर्छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानीका लागि उपयुक्त समय हुँदाहुँदै पनि विभिन्न कारणले निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले लगानी माहोल बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै गभर्नर पौडेलले मुलुकमा एकपछि अर्को विविध घट्नाहरुका कारण पछिल्लो समयमा नेपाल कालोसूचीमा पर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनका अनुसार हाल देशभर १८ लाख हाराहारीका ऋणीमध्ये करिब १ लाख जना कालोसूचीमा परेका छन्, जसमा करिब ८० प्रतिशत चेक बाउन्सका कारण सूचीकृत भएका छन् ।
यद्यपी गभर्नर पौडेलले हालको अवस्था लगानीका लागि अनुकूल रहेको बताए । उनले अहिले ब्याजदर सस्तो रहेको बताउँदै निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।
गभर्नर पौडेलले हाल राष्ट्र बैंकमा करिब ८ सय अर्ब रुपैयाँ ‘पार्क’ भएको भन्दै त्यसले लगानीका अवसरहरू बढाएको संकेत गरेको बताए । 'यो समय लगानी गर्ने समय हो, ब्याजदर सस्तो छ,' गभर्नर पौडेलले भने, 'सकारात्मक सोचका साथ काम गर्न सके अर्थतन्त्र माथि जानेछ।'
उनले सरकार र राष्ट्र बैंक दुवैको चाहना अर्थतन्त्रको स्थायित्व र वृद्धितर्फ केन्द्रित रहेको स्पष्ट पारे। त्यस क्रममा गभर्नर पौडेलले निजी क्षेत्रलाई खर्च बढाउन आग्रह गर्दै भने, 'सबै क्षेत्रले आ–आफ्नो क्षेत्रमा दौडिए अर्थतन्त्रमा सुधार आउनेछ।' गभर्नर पौडेलले लगानीका लागि उपयुक्त समय हुँदाहुँदै पनि विभिन्न कारणले निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले लगानी माहोल बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।