जनताको आवाज सुनेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकिए लोकतन्त्र सुदृढ हुन्छ: राष्ट्रपति
युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन प्रतिनिधिसभा सदस्यको आगामी फागुन २१ गतेका निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व हो भन्ने मर्म बुझेर अघि बढ्नुपर्ने आवश्यकता छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन् ।
प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले जनताको आवाज सुनेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति जति बनाउन सकिन्छ त्यति नै लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुन्छ भन्ने कुरा बिर्सन नहुने स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन प्रतिनिधिसभा सदस्यको आगामी फागुन २१ गतेका निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व हो भन्ने मर्म बुझेर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए ।
संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र उत्तरदायित्व नभई सामूहिक राष्ट्रिय दायित्व भएको भन्दै राष्ट्रपति पौडेलले भने ‘संसद् र सरकारको विशिष्ट भूमिका भनेकै जनताको आवाजलाई सुनिन सक्ने, बुझिन सक्ने र कार्यान्वयन गर्न सक्ने संरचना निर्माण गर्नु हो ।’ राष्ट्रपति पौडेलले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गरेर होइन, सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पारे ।