संसद्मा फेरी वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक, अर्थमन्त्री खनालले राष्ट्रियसभामा दर्ता गराए
राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासका लागि स्रोतको प्रबन्ध गर्न र निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्न विधेयक ल्याइएको हो ।
काठमाडौं। सरकारले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा संसद्मा विधेयक दर्ता गराएको छ।
अर्थमन्त्री रामेश्वर खनालले विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् । चुनावी सरकारले ल्याएको यो पहिलो विधेयक हो।
अर्थमन्त्री खनालले राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासका लागि स्रोतको प्रबन्ध गर्न र निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्न विधेयक ल्याएको बताएका छन् ।
‘विकासका नवीन स्रोतहरूको परिचालन गर्न तथा यसको माध्यमबाट रोजगारी प्रवर्धन, दिगो आर्थिक विकास र दीर्घकालीन लगानी सुनिश्चित गर्न, निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्न र वर्तमान वित्तीय स्रोतको कमी पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासका लागि स्रोतको प्रबन्ध गर्न ऋणपत्र, स्वपूँजी कोष र अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्न आवश्यक भएको हुँदा प्रस्तुत विधेयकलाई सरकारी विधेयकको रुपमा सङ्घीय संसद् पेस गरिएको छ,’ मन्त्री खनालले विधेयक आवश्यक पर्नाको कारणबारे भनेका छन् ।
वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक यसअघि प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा विचाराधीन रहेकामा प्रतिनिधि सभा विघटनका कारण निष्कृय हुन पुगेको थियो ।