इम्पेयरमेन्ट चार्ज बढ्दा एनएमबि बैंकको नाफामा धक्का, यस्ता छन् वित्तीय सूचक

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ ।

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आवको पहिलो ३ महिनासम्ममा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत आवको सोही अवधिको १ अर्ब १४ करोड रुपैयाँको तुलनामा २०.०४ प्रतिशतले कम हो ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानी गत आवको सोही अवधिको १ अर्ब ९९ करोडको तुलनामा २४.४९ प्रतिशत बढी हो । खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशत बढेर ७१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा इम्पेयरमेन्ट चार्ज पनि ७१ करोड३९ लाख रुपैयाँ छ । 

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २३.४७ प्रतिशत बढेको छ भने सञ्चालन नाफा १४.३१ प्रतिशत घटेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रूपैयाँ छ ।

१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबिको जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोजसम्ममा २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ । असोजसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा छ ।