कालिका लघुवित्तको नाफा १९.६३ प्रतिशतले बढ्दा कुन कुन सूचकमा आयो सुधार ?

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १ करोड ७० लाख रुपैयाँको तुलनामा १९.६३ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.२३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २५.४८ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सञ्चालन नाफा समीक्षा अवधिमा १९.४५ प्रतिशत बढेको छ । असोजसम्ममा लघुवित्तको वितरणयोग्य नाफा ९६ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ६९ पैसा बढेर १९ रुपेयाँ ९६ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ५०.८५ गुणा छ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३७ करोड ३० लाख रुपैयाँ सञ्चित छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।