संस्थागत आर्थिक अपराधविरुद्ध आइक्यान र सीआइबीबीच सहकार्य गर्ने समझदारी
नक्कली लेखापरीक्षकविरुद्ध कारवाही गर्नु, संस्थागत वित्तीय ठगी, आर्थिक तथा वित्तीय अपराधसँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धिका लागि समन्वय गर्नु समझदारीको उद्देश्य भएको आइक्यानले जनाएको छ ।
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । यसका लागि आइक्यान र सीआइबीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा मंगलबार आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर गरे ।
समझदारीको उद्देश्य संस्थागत आर्थिक अपराध अनुसन्धान गर्नका लागि ज्ञान तथा दक्षता अभिवृद्धि गर्नु तथा आइक्यान र सीआइबीबीच लेखापरीक्षणसँग सम्बन्धित विषयमा सूचना आदानप्रदान गर्नु हो ।
नक्कली लेखापरीक्षकविरुद्ध कारवाही गर्नु, संस्थागत वित्तीय ठगी, आर्थिक तथा वित्तीय अपराधसँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धिका लागि समन्वय गर्नु पनि समझदारीको उद्देश्य भएको आइक्यानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।