महादेवा गाउँपालिकाको कृषि सडकमा अनियमितता, वडा अध्यक्षसहित आठ जनाविरुद्ध मुद्दा
आयोगले सबै प्रतिवादीबाट ६ लाख ९० हजार ६५७ रुपैयाँ ५ पैसा बिगो असुल गरी कैद र जरिवाना सजाय हुने माग गर्दै कारबाहीको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको महादेवा गाउँपालिका–२ अन्तर्गत दोमुहान डगरदेखि खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगको अनुसन्धान अनुसार आर्थिक वर्ष २०७७/ ७८ मा कृषि विकास निर्देशनालय, नक्टाझिज, धनुषाबाट उत्तः सडक निर्माणका लागि स्वीकृत २३ लाख ५२ हजार ८६९ रुपैयाँ ६६ पैसा मध्ये प्राविधिक नापजाँचमा वास्तविक कामभन्दा बढी परिमाण देखाई ६ लाख ९० हजार ६५७ रुपैयाँ ५ पैसा बढी भुक्तानी दिइएको पाइएको हो ।
यसरी बढी रकम भुक्तानी गरी कार्यालयलाई हानी पुर्याउने र संलग्न व्यक्तिले गैरकानूनी लाभ लिएको ठहर भएपछि आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्रकमार पौडेलले जानकारी दिए ।
उनका अनुसार मुद्दामा संलग्न प्रतिवादीमा कृषि विकास निर्देशनालय, नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झा, कृषि अर्थ विज्ञ तथा योजना प्रमुख विकासकुमार साह र लेखा अधिकृत (छैठौं) चक्रप्रसाद अधिकारी रहेका छन् । आयोगले यी तीनै अधिकारीले निर्माण कार्यको नापजाँच, बिल प्रमाणिकरण र भुक्तानीका क्रममा मिलेमतो गरी बढी रकम वितरण गरेको आरोप लगाएको छ ।
त्यसैगरी, महादेवा गाउँपालिका–२ का वडा अध्यक्ष जगदिश मण्डल माथि पनि नगरेको कामलाई भएजस्तो देखाई गलत सिफारिस गरी भुक्तानी प्रक्रियामा सहयोग गरेको आरोप छ । यस्तै, कृषि सडक निर्माण उपभोक्ता समिति, महादेवा–२, कजौलीका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव र कोषाध्यक्ष सावित्रीदेवी यादव समेतमाथि झूटो विवरण तयार गरी बढी रकम लिन खोजेको आरोप लगाइएको छ ।
साथै, सो सडक आयोजनाका परामर्शदाता संस्था किरु इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र त्यस संस्थाका प्रोप्राइटर हरिशकुमार सिंह विरुद्ध पनि गलत प्रतिवेदन र नापी किताब तयार गरी झूटो विवरणका आधारमा भुक्तानी सदर गराउने कार्यमा संलग्न रहेको ठहर गरिएको छ । आयोगले उनीहरूलाई मुख्य कसूरदार सरह सजाय हुनुपर्ने माग गरेको छ ।
आयोगले सबै प्रतिवादीबाट ६ लाख ९० हजार ६५७ रुपैयाँ ५ पैसा बिगो असुल गरी कैद र जरिवाना सजाय हुने माग गर्दै कारबाहीको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।