एसियन लाइफ र नेपाल इन्स्योरेन्सको २ करोड ८ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत
नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी बढाएर ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि दुबै कम्पनीले हकप्रद सेयर विक्री गरि पुँजी बृद्धि गरेका हुन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वटा इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार एसियन लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो ।
एसियन लाइफको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर थपिएको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद सेयर निष्कासनसँगै कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।
हकप्रद सेयरपछि नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी बढाएर ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि दुबै कम्पनीले हकप्रद सेयर विक्री गरि पुँजी बृद्धि गरेका हुन् ।