काठमाडौंको फोहोर अझै उठेन, मन्त्री घिसिङ पुगे बन्चरेडाँडा
२०७९ जेठ २६ मा काठमाडौं महानगरसँगको १८ बुँदे सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहमति थियो ।
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाडा ल्यान्डफिल्ड साइट पुगेका छन् ।
आफूहरुसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री समेत रहेका घिसिङ आइतबार विहान बन्चरेडाडा ल्यान्डफिल्ड साइट पुगेका हुन् ।
शुक्रावारदेखि स्थानीयले फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन् । उनीहरुले माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् । फोहर विसर्जन कार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेका हुन् ।
सिसडोल बञ्चरेडाँडा-कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि यसअघि भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ ।