नागढुंगा सुरुङमार्ग प्रयोग र मर्मतका लागि ग्लोबल टेण्डर, समयावधि ५ वर्ष
बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुससम्म छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भएतापनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन ।
काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि बोलपत्र आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि आइतबार बोलपत्र आह्वान गरेको हो।
बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुससम्म छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भएतापनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन ।
सुरुङमार्ग २.७ किलोमिटर छ भने सँगैको आपत्कालीन मार्ग २.६ किलोमिटर छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ । सुरुङमा अत्याधुनिक प्रणाली व्यवस्था गरिएको छ, जसको सञ्चालनका लागि सडक विभागको हालको अनुभव र जनशक्तिबाट सहज छैन । त्यसैले तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।
ठेक्का पाउने कम्पनीले पाँच वर्षका लागि सुरुङमार्ग सञ्चालन तथा मर्मत गर्नेछ । यसअवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरु स्वदेशी जनशक्तिबाटै संचालन गर्न सहज हुने देखिएको आयोजनाले जनाएको छ ।
सुरुङमार्ग चौबिसै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । जिम्मा पाउने कम्पनीले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।
सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर तोकिसकेको छ । नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय सरकारले गरेको छ ।
त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।