भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

आईआईटी मद्रास प्रवर्तक भारतका प्रमुख इन्क्युबेटरमध्ये एक हो, जसले अहिलेसम्म ४६ वटा स्टार्टअपहरूलाई इन्क्युबेट गरिसकेको छ ।

काठमाडौ‌ । भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार पहल थालिएको छ । त्यसका लागि भारत–नेपाल स्टार्टअप साझेदारी नेटवर्क सुरु गरिएको छ ।

यो कार्यक्रमले नवीन र रूपान्तरणकारी व्यावसायिक विचार भएका नेपाली उद्यमीहरूलाई आवेदन गर्न आमन्त्रण गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यस अन्तर्गत सहभागीहरूलाई आईआईटी मद्रासमा आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा सञ्चालन हुने आठ हप्ते पूर्णरूपमा छात्रवृत्ति प्रशिक्षण र नवप्रवर्तन कार्यक्रममा सहभागी गराइनेछ ।

आईआईटी मद्रास प्रवर्तक भारतका प्रमुख इन्क्युबेटरमध्ये एक हो, जसले अहिलेसम्म ४६ वटा स्टार्टअपहरूलाई इन्क्युबेट गरिसकेको छ । तीमध्ये १४ वटा स्टार्टअपहरूले आफ्ना प्रविधिहरू सफलतापूर्वक व्यावसायिक बनाएका छन् ।

सहभागीहरूले व्यावहारिक सिकाइ, विज्ञहरूको मार्गदर्शन, र इन्टर्नसिपका अवसरहरू पाउनेछन्, जसले उनीहरूका विचारहरूलाई कार्यान्वयनमा रूपान्तरण गर्न मद्दत गर्नेछ ।

यो पहल भारतको काठमाडौ‌स्थित दूतावासद्वारा आयोजित पहिलो भारत–नेपाल स्टार्टअप कनेक्ट र दोस्रो भारत–नेपाल स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भका कार्यक्रमहरूको सफलतामाथि आधारित छ ।

इन स्पानले नेपाली स्टार्टअपहरूलाई भारतका अग्रणी नवप्रवर्तन केन्द्रहरूमा उच्चस्तरीय प्रशिक्षण, मार्गदर्शन र उद्योगगत अनुभव प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा छनोट आवेदन र अन्तर्वार्ताको आधारमा प्रतिस्पर्धात्मक रूपमा गरिनेछ, जसले अत्यधिक प्रेरित र आशाजनक स्टार्टअपहरूको समूह सुनिश्चित गर्ने भएको छ । आवेदन १ देखि १५ नोभेम्बर २०२५ सम्म खुला रहने जनाइएको छ ।