अर्थमन्त्री खनाल र पूर्व अर्थमन्त्री फोरमबीच छलफल, आपराधिक क्रियाकलाप गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग

विज्ञापन
ncell

भदौ २४ गतेको घटनामा सार्वजनिक, व्यावसायिक तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड, लुटपाट एवं आगजनीजस्ता आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाहीमा तीव्रता ल्याउनसमेत सरकारलाई अनुरोध गरेको छ ।

काठमाडौं । पूर्व अर्थमन्त्री फोरमले आम नागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलापहरू सञ्चालन गर्न आह्वान गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनाल उपस्थित रहेको आज यहाँ बसेको फोरमको बैठकले भदौ २४ गते जेनजीको भावना विपरीत आपराधिक मानसिकता भएका अराजक समूहबाट गरिएका घटनामा तोडफोड, लुटपाट एवं आगजनीबाट आम नागरिक र व्यवसायी जगत्मा ठुलो आर्थिक र मनोवैज्ञानिक क्षतिबाट परेको प्रभावबाट विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलाप सञ्चालन गर्न आह्वान गरेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिए ।

‘यस घटनाबाट आम नागरिक, व्यावसायिक जगत्को मनोबल तथा आर्थिक क्रियाकलाप कमजोर हुन नदिन सरकारले सुरक्षा, राहत तथा सहुलियतजस्ता प्रयासलाई थप अघि बढाउन आह्वान गर्दछौँ’, उनले भने ।

बैठकले कर विवरण बुझाउने अवधि एवं ऋण तथा ब्याज भुक्तानीको अवधिलाई अतिरिक्त १५ दिन थप गर्न पनि सरकारलाई अनुरोध गरेको छ । त्यसैगरी भदौ २४ गतेको घटनामा सार्वजनिक, व्यावसायिक तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड, लुटपाट एवं आगजनीजस्ता आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाहीमा तीव्रता ल्याउनसमेत सरकारलाई अनुरोध गरेको छ ।

बैठकमा अर्थमन्त्री खनालसहित पूर्वअर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन, प्रकाशशरण महत, गभर्नर विश्व पौडेल, अर्थसचिव घनश्याम उपाध्यायको सहभागिता रहेको थियो ।