राहदानी छपाइमा प्रधानमन्त्री कार्कीले मागिन् जर्मनीका राजदूतसँग सहयोग

नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग आज शिष्टाचार भेट गरेकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको थियो । भेटमा जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैं नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री कार्कीले राजदुतलाई धन्यबाद दिँदै नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मिति अगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् ।

नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरिन् । जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी सक्दो पहल गर्ने बताए ।

भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।