जिल्लास्तरका राजस्व चुहावट नियन्त्रण कार्यालयलाई अनलाइनमा जोड्न अर्थमन्त्री खनालको निर्देशन

बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने, जिल्ला स्तरमा सचेतना कार्यक्रमको आयोजना गर्ने, समितिका आगामी बैठकहरु अन्य कार्यालयहरु/निकायहरुमा गर्नेबारे छलफल भएको छ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास रहनुपर्नेमा जोड दिएका छन् ।

बिहिबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास हुनुपर्ने भन्दै सबै निकायहरु बीच सूचनाको आदान प्रदानमा जोड दिए । बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने, जिल्ला स्तरमा सचेतना कार्यक्रमको आयोजना गर्ने, समितिका आगामी बैठकहरु अन्य कार्यालयहरु/निकायहरुमा गर्नेबारे छलफल भएको छ । यस्तै, जिल्लास्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई पनि अनलाइनमा जोडी संयुक्त रुपमा गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा अर्थमन्त्री खनालले निर्देशन दिएका थिए।

खनालको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक-नेपाल प्रहरी, महानिरीक्षक-सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक-राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक-भन्सार विभाग, महानिर्देशक-आन्तरिक राजस्व विभाग, महानिर्देशक-राजस्व अनुसन्धान विभाग, महानिर्देशक- सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतको उपस्थिति थियो । बैठकमा अर्थ मन्त्रालय अन्तर्गत राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीले प्रस्तुती दिएका थिए ।