जेनजी विद्रोहमा क्षतिः सवा २३ अर्बको बीमा दावी, पौने ३ अर्ब अग्रिम भुक्तानी

आन्दोलनबाट होटल, स्कुल, भाटभटेनी सुपर मार्केट, गाडीका सोरुम तथा निजी घरमा तोडफोड तथा आगजनी हुँदा सबैभन्दा धेरै सम्पत्ति बीमामा दाबी परेको परेको हो ।

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन (विद्रोह) बाट पुगेको क्षतिको पौने ३ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी भएको छ । आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ अर्ब भुक्तानी दिएका हुन् ।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीले मूल्यांकन गरी २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका हुन् । बीमा कम्पनीमा आएको दाबी मध्ये कम्पनीहरुले कात्तिक ९ गतेसम्म २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनबाट भएको क्षतिले डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा ३ हजार १८७ दाबी परेको थियो ।

सम्पत्ति बीमामा सबैभन्दा धेरै १९ अर्ब १ करोड ९३ लाख रुपैयाँको बीमा दाबी परेकामा २ अर्ब २७ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ । आन्दोलनबाट होटल, स्कुल, भाटभटेनी सुपर मार्केट, गाडीका सोरुम तथा निजी घरमा तोडफोड तथा आगजनी हुँदा सबैभन्दा धेरै सम्पत्ति बीमामा दाबी परेको परेको हो ।

मोटर बीमामा ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँको बीमा दाबी परेकामा २७ करोड ७७ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ ।