मन्त्रिपरिषद वैठकः स्वकीय सचिवालय घटाउने, नेपाल र मौरिससबिचको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने
कतारको दोहामा आयोजना हुने ’सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।
काठमाडौँ । सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको बताए । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै खरेलले भने, ‘स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको छ ।’
मन्त्रिपरिषद्ले नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ । यस्तै छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ। यो नियमावली राजपत्रमा प्रकाशित भएपछि अनलाइनको दर्ता र नवीकरण लागू हुनेछ ।
यसैगरी कतारको दोहामा आयोजना हुने ’सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।
बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।