नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले गर्नेछ निर्णय

प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीको सेवा, सुविधा लगायतका विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन ७ दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन् ।

काठमाडौं । पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गरिने भएको छ ।

प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको पहिलो बैठकले नर्सको समस्याको सम्बोधन गर्न गर्न सक्रिय रुपमा लाग्ने निर्णय गरेको हो ।

नेपाल नर्सिंङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्स प्रतिनिधि समेतको कार्यदल ७ वटै प्रदेशमा गठन गर्ने र सो कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । प्रदेशमा गठित कार्यदलहरुले संघमा रहेको श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्नेछन् ।

प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीको सेवा, सुविधा लगायतका विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन ७ दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन् ।

आइतबार नै समितिको पहिलो बैठक बसी तिहार बिदाका अवधिमा भर्चुअल माध्यमबाटै भए पनि अध्ययनको काम अघि बढाउने गरी सातै प्रदेशमा कार्यदल बनाउने निर्णय गरेको हो । समितिले दिएको कार्ययोजनासहितको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरिनेछ।