आज काग तिहार, यमदूतका रुपमा पूजा गरिने चलाख पंक्षी कागका अनौठा १५ कुरा
यमराजले मर्त्यलोक अर्थात पृथ्वीको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज काग तिहार ।
हिन्दू विधी र परम्परा अनुसार पाँचदिनसम्म मनाईने भएकाले यमपञ्चक पनि भनिने तिहारको पहिलो दिनका रुपमा आज काग तिहार मनाईंदै छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजागरी मीठा मीठा खानेकुराहरु दिई सत्कार गरिन्छ।
यमराजले मर्त्यलोक अर्थात पृथ्वीको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।
कागलाई दहीअसाध्यै मनपर्ने भएकाले आजको दिन कागलाई दही र भात खुवाएमा यमराजका सामु राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही र भात खुवाउने प्रचलन पनि रही आएको छ । आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । धार्मिक कथनअनुसार दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससँग तिहार पर्वको सम्बन्ध गाँसिएको छ ।
वैदिक कालमा भगवान विष्णुले खुसी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम ५ दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको र यी ५ दिन बलि राजाले आफ्नो राज्यभरी दीपावली गरी झकिझकाउ पारेको कथासँग पनि तिहार पर्वको सम्बन्ध जोडिएको छ । यसो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धन धान्यले भरिपूर्ण पारिदिन्छिन् साथै यमराज पनि खुसी हुन्छन् भनी भगवान विष्णुले बलि राजालाई वरदान दिएको कथा प्रचलित छ । त्यसैले प्राचिनकालदेखि नै तिहार चाडमा घर, आँगन सफा गरी, चारैतिर फूलमालाले झकिझकाउ पारेर दीप प्रज्वलन गर्ने प्रचलन छ ।
नेपालमा तराईदेखि हिमालसम्म कम्तीमा पाँच प्रजातिको कागहरु अभिलेख गरिएको छ । विश्वमा भने ४० प्रजातिको काग पाइन्छ । नेपालका हिमाली भेगमा पाइने भोटे काग १० देखि १५ बर्षसम्म बाँच्न सक्छ भनिन्छ । काग एक अनौठो पंक्षी हो । कागका सम्बन्धमा अनेकन रोचक तथ्य सुन्ने गरिएको छ ।
कागका अनौठा १५ कुरा
१. काग निकै चलाख पंक्षी मानिन्छ । यसको मस्तिष्कको संरचना पनि करिब मान्छेको जसरी बनेको हुन्छ भनिएको छ । अरु पंक्षीको तुलनामा कागको स्मरणशक्ति राम्रो मानिन्छ । कागले मान्छेले झै नक्कल गर्न सक्छ ।
२. काग सर्वहारी पंक्षी हो । यसले जे पनि खान्छ । मासु, सिनो, अन्न सबैकुरा खान्छ । त्यसैले पनि यो दुर्लभ वा लोपोन्मुख छैन । कागको फ्लोरेज प्रजातिबाहेक सबै कागहरु संकटविहीन अवस्थामा छन् ।
३. विश्वको सबैजसो स्थानमा काग पाइन्छ । अन्टार्कटिकाबाहेक सबैजसो महादेशमा कागको अस्तित्व छ ।
४. कागको जेठो सन्तानले आफ्ना आमाबुवाका अन्य सन्तानलाई हुर्काउन सहयोग गर्छ ।
५. कागले जीवनकालभर एउटैसँग मात्र सम्बन्ध गाँस्छ । अर्थात एउटासँग मात्र जोडी बाँध्छ । एउटैसँग यौन सम्पर्क गर्छ । कागले २ देखि ४ बर्षको उमेरमा यौन सम्पर्क राख्ने गर्छ ।
६. कागले अन्डा कोरलेपछि भाले र पोथी आलोपालो गरेर ओथरा बस्छ ।
७. कागले आफ्नो साधरण आवाज बाहेक पनि अलग भाषामा कुरा गर्छ । अक्सर कुनैपनि खतराको संकेत गर्दा उनीहरु यस्तो भाषा प्रयोग गर्छन् ।
८. जब एउटा काग मर्छ, तब अन्य कागले त्यहाँ कुनै खतरा छ वा छैन भन्नका लागि परीक्षण गर्छ ।
९. कागले मान्छेको अनुहार पहिचान गर्छ ।
१०. मेक्सिकोको बैना जे यस संसारमा पाइने सबैभन्दा सानो प्रजातिको काग हो, जसको तौल केवल ४० ग्राम हुन्छ ।
११. कागलाई चालु प्रवृत्तिका मानिन्छ । कागमा बदलाको भावना लामो समयसम्म रहिरहन्छ ।
१२. काग संसारमा धेरै पहिलेदेखि अस्तित्वमा रहेको पाइन्छ ।
१३. कागले २ सय ५० थरीसम्म आवाज निकाल्न सक्छ ।
१४. जापान, चीन र कोरियामा तीन खुट्टे कागबारेका अनेकन किम्बदन्ती रहिआएको छ ।
१५. कागले बेलाबखत बिरामी वा घाइते कागलाई ठुँगेर मार्ने गर्छ । कागको यस्तो समूहलाई ज्यानमारा समेत भन्ने गरिन्छ ।