सुरु भयो उज्यालोको पर्व तिहार, आज धनतेरस

धनतेरसका दिन विशेषरूपमा भगवान धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । समुद्र मन्थनको क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएका थिए ।

काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् सुरु भएको छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो ।

दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

धनतेरसका दिन विशेषरूपमा भगवान धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । समुद्र मन्थनको क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएका थिए । 

भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतार मध्येका एक हुन् । हरेक वर्ष कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशीका दिन धनतेरस मनाइन्छ । 

धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । धनतेरसका दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । धनतेरसका दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । धनतेरसका दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।


के के किनिन्छ धनतेरसका दिन ?

भगवान् धन्वन्तरीलाई पित्तल मनपर्ने भएकाले यस दिन विशेष रूपमा पित्तलका सामानहरू किनिन्छ । नेपाली बजारमा यस दिन विशेषगरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरूको खरिद–बिक्री हुने गर्छ ।

धनतेरसको दिन किनिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ । यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ । 

साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ । यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ ।

धनतेसरमा अधिकांशले कुचो किन्ने गरेका पाइन्छ। यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास गरिन्छ । 

सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारी साधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैँ-तिहारको अफर पनि चल्ने भएकाले सवारी साधनको बिक्रीसमेत अत्यधिक हुने गरेको छ । आजदेखि भाइटीकाको दिनसम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो गर्दा अशुभ हुने जनविश्वाससमेत रहेको छ ।


तिहार अवधिभर कुन दिन केको पुजा हुन्छ ?

काग तिहार आइतबार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता छ ।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गरिन्छ ।

कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए । सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ ।

कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।

गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ ।

कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने उनले सुनाए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि शहरी क्षेत्रमा बढ्न थालेको छ ।

बडादसैंम ासुनसान प्रायः हुने काठमाडौं उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवद्र्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ ।

कौडा, लंगुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्काउन भने छाडिएको छैन ।