कीर्तिपुर क्रिकेट रंगशालामा १० अर्ब खर्च गरिने, स्वीकृत भयो कार्ययोजना

सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा १० अर्ब खर्च गर्ने गरि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले गुरुयोजनालाई आवश्यक जग्गा प्राप्तिका लागि प्रचलित कानुन बमोजिम रंगशालाका रूपमा प्रयोग गर्न त्रिवि तथा युवा खेलकुद मन्त्रालय/राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

हाल रंगशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी १ मंसिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

केही दिनअघि रंगशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा पुगेका सहरी विकासमन्त्री कुलमान  घिसिङले गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रंगशाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताएका थिए ।

त्रिवि र नेपाल क्रिकेट संघबीचको क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौताको म्याद वैशाख २०८३ मा सकिँदैछ ।