स्वास्थ्य बीमा बोर्डले बिरामी रेफरमा गरेको सहजीकरणका ९ निर्णय
बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो ।
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ । बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो ।
बोर्डका कार्यकारी निर्देशकस्तरको २७ असोजको निर्णयअनुसार बीमितहरूको उपचार प्रक्रिया सहज र सरलीकृत हुने बोर्डले जनाएको छ । बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्रचार गरी सो विषयमा जानकारी गराइसकिएको छ ।
यी हुन् बोर्डले गरेको नौ निर्णयहरुः
–कडा रोग (क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर) को हकमा प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही समस्याका लागि सोही अस्पतालमा फलो अप गराउँदा पुनः रिफर आवश्यक नपर्ने ।
–प्रचलित कानुनबमोजिम अति गरिबको परिचयपत्र प्राप्त परिवार, अतिअशक्त अपांगता, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल खालका क्षयरोग बिरामी, ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका) को हकमा एकपटक प्रेषण भई सोही अस्पतालमा फलोअप गराउँदा पुनः रिफर आवश्यक नपर्ने ।
–आँखा स्वास्थ्यसम्बन्धीको जटिल समस्या, गर्भवती तथा सुत्केरी, अन्य जटिल रोग जस्तैः दम, कडा किसिमको मानसिक रोगीको हकमा प्रथम सेवा विन्दुबाट एक पटक प्रेषण भई सोही समस्याका लागि सोही अस्पतालमा फलो अप गराउँदा पुनः रिफर आवश्यक नपर्ने ।
–एउटा रोगका लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुनः चेकजाँचमा जाँदा नयाँ प्रेषणको आवश्यकता नपर्ने ।
–आकस्मिक सेवा लिएपश्चात सोही रोगको लागि फलोअप पर्ने भएमा एकपटकको लागि रिफर आवश्यक नपर्ने।
–प्रथम सेवा विन्दुबाट कुनै एक रोगका लागि प्रेषित भई उपचार गरिरहेको अवस्थामा अर्को रोगसमेतको डायग्नोसिस तत्काल आवश्यक भएमा सोही अस्पतालको अर्को विभागमा प्रेषण गरी सेवा उपलब्ध गराउनुपर्ने ।
–अन्तर विभाग रिफर भई अन्य विभागबाट सेवा लिई सोही विभागमा फलोअप गर्नुपर्ने अवस्था रहेमा पुनः रिफर आवश्यक पर्ने ।
–प्रेषण केन्द्रबाट समेत सेवा अपुग भएको अवस्थामा सेवाको सुनिश्चितता गरी नजिकैको अर्को अस्पतालमा समेत प्रेषण गर्नुपर्ने ।
–शारीरिक रुपमा कमजोर, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई सहज रुपमा सेवाको सुनिश्चितता हुने व्यवस्था मिलाउनुपर्ने ।