प्रधानमन्त्री कार्कीको नाम लिएर चन्दा/सहयोेग उठाउन सुरु, मन्त्रिपरिषद कार्यालयले दियो कारवाहीको कडा चेतावनी

केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीको नाम लिएर विभिन्न प्रयोजनका लागि चन्दा र सहयोग उठाउन सुरु गरिएको पाइएको छ । विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग हुन थालेको भन्दै प्रधामन्त्री कार्यालय चासो देखाएको छ । 

प्रधानमन्त्रीको नाममा चन्दा उठाउन थालिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडा विज्ञप्ति जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने विज्ञप्तिमा उल्लेख छ ।

केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन । कहीँ कतै कसैले प्रधानमन्त्री कार्कीको नाम जोडेर गरिने भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिवधि फेला पारेमा कानुनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन विज्ञप्तिमा आग्रह गरिएको छ ।



प्रकाशन भएका दस्तावेजहरू

68edae611f2c3_1760407137.pdf