अमेरिकमा रहेका अर्थमन्त्री विभिन्न छलफलमा व्यस्त, चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच पनि सोमबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको बारेमा बुझ्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको छ।
काठमाडौं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वर खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
यस्तै, खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच पनि सोमबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको बारेमा बुझ्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको छ।
भेटघाटका अवसरमा अमेरिकाका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो ।
यसअघि अर्थमन्त्री खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका थिए । अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका नेपालको साझेदारीको मजबुती' विषयक संवाद कार्यक्रममा खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गरे । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरुसमेत उपस्थित थिए ।