अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो, दुईतर्फी आइतबारबाट खुल्ने

गत वर्ष असोजको बाढीपहिरोले क्षतबिक्षत बनाएको बीपी राजमार्गमा बनाइएको डाइभर्सन पनि यहि असोजको बाढीले सबै बगाएको थियो ।

काठमाडौं । लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।

असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले काभ्रे र सिन्धुली जिल्लाभित्रका करिब १३ स्थानमा सडक क्षति पुगेको थियो ।

राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो । सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने बताइएको छ ।

अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइभर्सन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । काभ्रेको कटुन्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा सडक क्षति पुगेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको निरीक्षण गरेका थिए । त्यसअवसरमा घिसिङले मर्मत कार्य तीव्र बनाउन थप जनशक्ति र उपकरण परिचालन गर्न तथा बत्तीको व्यवस्था गरी राति पनि काम सञ्चालन गर्न निर्देशन दिएका थिए ।

गत वर्ष असोजको बाढीपहिरोले क्षतबिक्षत बनाएको बीपी राजमार्गमा बनाइएको डाइभर्सन पनि यहि असोजको बाढीले सबै बगाएको थियो ।