प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ : रमेश लेखक
जेनजीहरूले राम्रा माग राखेर आन्दोलन गर्नुभएको थियो । तर, घुसपैठ भएर अप्रत्याशित घटना भए । नहुनुपर्ने घटना भए ।
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।
कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् ।
‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिए । आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्,’ लेखकले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन ।’
लेखकले मुलुकको संविधान र कानुन बमोजिम आ–आफ्नो काम सबैले गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई जोगाउनुपर्ने बताए । ‘जेनजीहरूले राम्रा माग राखेर आन्दोलन गर्नुभएको थियो । तर, घुसपैठ भएर अप्रत्याशित घटना भए । नहुनुपर्ने घटना भए’ लेखकले भने ।