विद्युत प्राधिकरणले जलविद्युत आयोजना बनाउन २० अर्बको उर्जा बण्ड निकाल्ने, सरकारले दियो अनुमति

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद वैठकले सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड चरणबद्ध रुपमा निष्काशन गर्न स्वीकृति दिएको थियो ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजना बनाउन २० अर्ब रुपैयाँको उर्जा बण्ड निकाल्ने भएको छ । सरकारले प्राधिकरणलाई बण्ड निकाल्न अनुमति दिएसँगै थप जलविद्युत आयोजनामा लगानी गर्न सहज भएको हो । 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद वैठकले सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड चरणबद्ध रुपमा निष्काशन गर्न स्वीकृति दिएको थियो ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षकहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समिति खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति २०८१ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ ।

अध्यागमन र भिजिट भिसाका सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइको छ ।

त्यस्तै नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेस गरेको प्रतिवेदन २०८२ कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।