राष्ट्रपतिको अपिल- फागुन २१ मै चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरता

राष्ट्रपति पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई अपिल गरेका हुन् । यस्तो प्रार्थना गर्दै राष्ट्रपति पौडेलले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरताका लागि अपिल गरेका छन् ।

बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

‘तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्नि सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून्,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख छ ।

गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । प्रतिनिधि सभाबाट अर्को सरकार बन्न सक्ने अवस्था बनेन । त्यसपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।

यो सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई अपिल गरेका हुन् । यस्तो प्रार्थना गर्दै राष्ट्रपति पौडेलले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।